ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शिक्षकका लागि निर्धारित पोसाक नलगाए भत्ता रोक्का गरिने भएको छ। विद्यालयमा कार्यरत शिक्षकले पोसाक नलगाई विद्यालय आए गाउँपालिकाले भत्ता रोक्का गर्ने निर्णय गाउँपालिकाले गरेको हो।
शिक्षकलाई तोकिएको पोसाक अनिवार्य लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने निर्णय गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले जानकारी दिए। पोशाक लगाए/नलगाएकोबारे छड्के अनुगमन गर्ने र तोकिएको पोसाक नलगाउने शिक्षकको पोसाकभत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरेको भनाइ छ।
गाउँपालिकामा माध्यमिक विद्यालय ५, निम्नमाध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय २० गरी जम्मा २८ सामुदायिक विद्यालय सञ्चालनमा छन्।
यसैबीच लामो समय कोरोना भइरसका कारण रोकिएको पठनपाठनमा तत्कालै खोल्ने निर्णय गरिएको गाउँलिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए। सबै विद्यालयमा आवश्यक स्वास्थ्य सामग्री गाउँपालिकाले उपलब्ध गराइ दिने प्रवक्ता चोङवाङले उल्लेख गरे।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई बिहान कक्षा सञ्चालन हुने भएको छ। कक्षा ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता चोङवाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।