काठमाडौं- सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ। आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन्।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सबैसँग मित्रता कायम हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए। ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं। 'सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने विषयलाई हामीले मन्त्र जस्तै बनायौं,’ उनले भने।
संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरू रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पारे। कुनै पनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए।
परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थानलगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताए।
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ।
छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ। यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ।
विदेशमा पेसा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताए। उनले नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।