काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले गृह प्रशासनकै संरक्षणमा राजावादीको प्रदर्शन भएको बताएका छन्।
आइतबार सुरु पार्टीको स्थायी कमिटी बैठकमा 'विशेष प्रस्तावमा तत्काल छलफल गर्नेबारे' भन्दै पेश गरेको निवेदनमा उनले अहिले भइरहेको राजावादीहरुको प्रदर्शनप्रति लक्षित गर्दै गृह प्रशासनको संरक्षण सुनिएको बताएका हुन्।
'यसबीचमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट उत्साहित गणतन्त्र विरोधीहरु आज खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध उत्रिएका छन्', शर्माको प्रस्तावमा उल्लेख छ, 'नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ।'
'बरु गणतन्त्र लोकतन्त्रको पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ', उनले भनेका छन्।
उनले संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमी कमजोरीहरु सच्याउँदै जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न ढिला गर्न नहुने उल्लेख गरेका छन्।
उनले कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्ण रुपले आर्थिक गतिविधिहरु सञ्चालन हुने अवस्था सिर्जना गर्नुपर्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।