काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। सिटीले फुलहामलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा रहिम स्टर्लिङ र केभिन डे ब्रुयनले गोल गरे। खेलको पाँचौ मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। खेलको २५ औं मिनेटमा रहिम स्टर्लिङलाई फुलहामका जोचिम एन्र्डसेनले डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो।
पेनाल्टीबाट केभिन डे ब्रुयनले गोल गर्दै म्यानचेस्टर सिटीलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै गर्दै जित निकालेको हो। शनिबार राति नै भएको अर्को खेलमा म्यानस्चेस्टर युनाइटेडले वेष्टहामलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
यो जितसँगै सिटीले लिगको पाँचौं स्थानमा उक्लिएको छ। सिटीले १० खेलबाट १८ अंक बनाएको छ। पराजित फुलहामको भने ११ खेलबाट सात अंक छ। वेष्टहामलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको हो। म्यानचेस्टर युनाइटेडको १० खेलबाट १९ अंक छ। पराजित वेष्टहामको भने ११ खेलबाट १७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।