काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभियालाई पराजित गरेको छ। रियलले सेभियालाई १–० गोलले पराजित गरेको हो।
घरेलु टिम सेभिया आफ्नै खेलाडीको आत्मघाति गोलको कारण हार्न पुग्यो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सेभियाले दोस्रो हाफमा आत्मघाति गोल गरेको हो। खेलको ५५ औं मिनेटमा यासिन बाउनोउले आत्मघाति गोल गर्दा रियल मड्रिडले १–० गोलको अग्रता बनाएको थियो। बाँकी समयमा सेभियाले गोल गर्न नसक्दा रियल मड्रिडसँग १–० ले पराजित भएको हो।
त्यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। एथ्लेटिको मड्रिडको जितमा थोमस लेमार र मार्कस लोरेन्टेले गोल गरे। अर्को खेलमा भने लेभान्टेले गेटाफेलाई ३–० गोलले पराजित गरेको छ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडको १० खेलबाट २६ अंक भएको छ। पराजित भालाडोलिडको भने १२ खेलबाट १० अंक छ। त्यस्तै, सेभियालाई पराजित गरेको रियल मड्रिडले तेस्रो स्थानमा उक्लिएको छ। रियलको ११ खेलबाट २० अंक छ। पराजित सेभियाको भने १० खेलबाट १६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।