काठमाडौं- काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण र सम्वर्द्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौंभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शनिबार शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिए। उनले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तलजस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त राख्न स्रोतको अभाव नभएको पनि प्रष्ट पारे।
‘भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौं। यसैगरी भगवान् बुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति उद्यान निर्माण गर्न १ करोड ५० लाख रकम विनियोजन गरेका छौँं,’ कामपा प्रमुख शाक्यले भने। विस्तारित भवनको लागत ४ करोड २८ लाख हो। सोमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम हुने भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।