हैदरावाद- आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले उत्कृष्ट बलिङ जारी नै राखेको छ। सोमबार राति भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ रनको रोमाञ्चक जित हात पार्यो।
जितसँगै हैदरावाद १० खेलबाट १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। बैंग्लोर भने १० खेलबाट ६ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा छ। नजितासँगै हैदरावाद प्लेअफ नजिक पुगेको छ भने बैंग्लोर पहिलो चरणबाट बाहिरिने खतरामा छ।
सोमबार हैदरावादले दिएको १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४१ रन मात्र जोड्न सक्यो। बैग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३९ रन र ग्रान्डहोमले ३३ रनको योगदान दिए। अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको अवस्थानमा हैदरावादका भुवनेश्वर कुमारले ६ रन मात्र खर्चिए र १ विकेट लिन सफल भए। त्यसअघि सकिक अल हसनले २ विकेट हात पारे। सन्दीप शर्मा, सिद्धान्त कौल र रसिद खानले १-१ विकेट लिए।
त्यसअघि हैदरावाद २० ओभरमा १ सय ४६ रनमा अलआउट भयो। हैदरावादका लागि कप्तान केन विलियनसनले ५६ रन र सकिब अल हसनले ३५ रनको योगदान दिए। बलिङतर्फ बैंग्लोरका टिम साउथी र मोहमद सिराजले ३-३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।