काठमाडौं- वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच सहमति भएको छ। आन्दोलन थालेको ४६ औं दिनमा शुक्रबार भएको वार्तामा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति जुटेको हो।
कोभिड भत्ता वितरणमा देखिएका केही त्रुटि सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनतर पक्षको प्रतिनिधि रहने गरी समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरणको व्यवस्था गर्ने सहमति भएको छ।
कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने, सेवा विस्तार भत्ता आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ।
यस्तै, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने सहमति पत्रमा उल्लेख छ।
सहमति भएसँगै आन्दोलरत कर्मचारीहरुले शुक्रबारदेखि नै विरोधका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति कार्यान्वयनका लागि ६ हप्ताको समय दिएकाले विरोधका सबै कार्यक्रम स्थगित गरिएको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
उनले भने, हामीले माग पुरा गर्न र सहमति कार्यान्वयन गर्न ६ हप्ताको समय दिएका छौं। त्यो बेलासम्म हाम्रा सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।