काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्य पम्फा भुसालले समस्या समाधानबाट नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएकी छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलाबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै नेतृ भुसाले भनिन्, ‘बहस गर्नबाट उम्केर समस्याको हल हुन्न। प्रधानमन्त्री शनिबार हुने सचिवालय बैठकमा आउनैपर्छ। समस्याको सामना गर्न नसक्ने नेतृत्व हुँदैन।’
गत सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि शनिबारको लागि सचिवालय बैठक सारिएको छ। प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको छलफल गर्न ओली उपस्थित हुनैपर्ने भुसालको तर्क छ।
प्रधानमन्त्री पुनः बैठकमा आउने/नआउने आशंका रहेका बेला उनले भनिन्, ‘नेतृत्व भनेको समस्याको हल पनि हो। जसले अन्तरविरोधको हल गर्न सक्छ,त्यहि नेतृत्व हो।’
सचिवालय बैठकमा प्रस्तुत दुवै अध्यक्षहरूका प्रतिवेदनमाथि छलफल हुने जनाउँदै उनले सहमतिमा हुन नसके बहुमतमा निर्णय गरिने बताइन्। उनले भनिन्, ‘एकता,संघर्ष र रुपान्तरण मार्फत अघि बढ्छौं। सकेसम्म सर्वसहमत नभए बहुमतको विधिबाट समस्या हल गरि पार्टी एकता कायम राख्छौं।’
शनिबारको सचिवालय बैठक निर्णायक हुने बताउँदै भुसाल विवाद अन्त्यको अन्तिम केन्द्र केन्द्रीय कमिटी बैठक हुने बताइन्। पार्टीमा आएको संकट समाधानका लागि रचनात्मक छलफलका लागि विद्यार्थी संगठनले कार्यक्रम राखेको उनले बताइन्।
प्रधानमन्त्री पक्षका विद्यार्थीले आफ्नो समूहको भेला गर्ने तयारी गरेपछि प्रचण्ड-नेपाल समूहले थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा भेला भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।