काठमाडौं–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको सम्वादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित भएका ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताएका छन्।
विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिमा समेत उल्लेख गरिएको उनले बताए।
‘नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो, त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको छ,’ उनले भने, ‘यसबाट नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको छ।’
व्यापार, वाणिज्य, जलस्रोत तथा सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको उनले बताए। यस्तै सीमासम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए।
दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि उनले जानकारी दिए। नेपाल–भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढिसकिएको पनि मन्त्री ज्ञवालीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।