पर्सा- जिल्ल्ला अदालत पर्साले नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्या अभियोगमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ। जिल्ला अदालतमा थुनछेक बहसपछि अशेश्वरप्रसाद चौरसिया र उत्तम भनिने निरञ्जन तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र २ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश गरेको हो। जिल्ला अदालतले दुई जनालाई जनही २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। जिल्ला अदालतले धरौटी माग गरेकोमा हनिफ मियाँ र देवा सहनी हुन्। अदालतले मागेको धरौटी बुझाएर उनीहरु बुधबार नै रिहा भएका छन्।
अदालतमा पेस भएका अभियुक्तमध्ये एक जना नाबालकलाई भने साधारण तारेखमा रिहा गर्दै जिल्ला अदालतले अभिभावकको जिम्मा लगाउन आदेश गरेको अदालतका स्रेस्तेदार कृष्ण अधिकारीले बताए।
कात्तिक ६ गते विन्दबासिनी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा दुई पक्षबीच झडप हुँदा मुकेश गम्भीर घाइते भएका थिए। त्यसको भोलिपल्ट उपचारको क्रममा मुकेशको मृत्यु भएको थियो। घटनामा संलग्न रहेको आरोपमा १ बालकसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।
प्रहरीको राय प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले संविधानसभा पुर्व सदस्य राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भने मुद्दा नचल्ने निर्णय गर्दै उन्मुक्ति दिएको थियो। १६ जना अझै फरार रहेका छन्। अदालतले उनीहरुको नाममा म्याद जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।