काठमाडौं- कतारी ओलम्पिक कमिटीका प्रतिनिधिले बिहीबार नेपाल ओलम्पिक कमिटीसँग भेटघाट गरेका छन्। भेटका क्रममा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि औपचारिक रूपमा सहयोग गर्न नेपालसँग अनुरोध गरेको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत पदाधिकारीसँग कतार ओलम्पिक कमिटीका प्रतिनिधिले २०३० मा हुने एसियाली खेलकुद प्रतियोगिताको आयोजना गर्ने आफ्नो दाबीमा सहयोग गर्न अनुरोध गरेको हो। कतार अोलम्पिक प्रतिनिधिसँग नेपाल ओलम्पिक कमिटीका छलफलमा अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ उपस्थित थिए।
कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनसहित १२ सदस्यी टोली नेपाल आएको हो। सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि छलफलमा देखाइएको थियो।
भेटवार्तामा अध्यक्ष श्रेष्ठले नेपालले कतारलाई अयोजनाको लागि सहयोग गर्ने बताए। उनले भने, ‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ।
खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन्।’ अध्यक्ष श्रेष्ठले अगाडि थपे, ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।