काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला महिना दिनकी छोरीसहित मृत फेला परेकी छन्। सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको जानकारी दिए। दोर्जेको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ।
राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरी प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतक आमाछोरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ।
किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए। क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।