भक्तपुर–भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ। भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो।
समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेको बताइएको छ। सोही समिति र प्रतिवेदनका आधारमा नगरपालिकाले पोखरीको पुनःनिर्माण गरिरहेको छ । समितिले सो प्रतिवेदन बुधबार भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढङ्गले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताए। ‘नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्ति संरक्षणको कार्यलाई अगाडि बढाइएको छ’, नगरप्रमुख प्रजापतिले भने, ‘काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुरले प्राविधिक तथा आवश्यक कालीगढ सहयोग गरेको हो ।’
नगरप्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिलाई जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताए। उनले भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको पनि बताए।
पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदा विस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।