काठमाडौं– इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा युभेन्टसले डायनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युभेन्टसको जितमा क्रिस्टयानो रोनाल्डो, फेडेरिको चिसा र अल्भारो मोरटाले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको २१ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए।
खेलको ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए। यो गोलसँगै रोनाल्डोले आफ्नो खेल जीवनमा ७५० गोल पूरा गरेका छन्। उनले आफ्नो खेल जीवनमा रियल मड्रिडबाट ४५०, म्यानचेस्टर युनाइटेडबाट ११८, आफ्नो देश पोर्चुगल राष्ट्रिय टिमबाट १०२, युभेन्टसबाट ७५ र स्पोर्टिङ लिस्बनबाट ५ गरी कूल ७५० गोल गरेका हुन्।
त्यस्तै, खेलको ६६ औं मिनेटमा मोरटाले गोल गरेपछि युभेन्टसले डायनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
यो जितसँगै समूह ‘जी’ को दोस्रो स्थानमा रहेको युभेन्टसको पाँच खेलबाट १२ अंक भएको छ। शीर्ष स्थानमा भने १५ अंकको साथ बार्सिलोना छ। बार्सिलोना र युभेन्टस समूह चरणको दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेका टिम हो। पराजित डायनामो किभको भने पाँच खेलबाट एक अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।