काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युनाइटेडविरुद्ध पिएसजीको जितमा नेयमारले दुई गोल गरे। त्यस्तै, मार्कुन्होसले एक गोल थपे। युनाइटेडका मार्कुस राष्फोर्डले एक गोल गरे। खेलको छैटौ मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई १–० गोलको अग्रता दिलाए। खेलको ३२ औं मिनेटमा राष्फोर्डले गोल गरेपछि युनाइटेडले १–१ गोलको बराबरी बनाएको थियो।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल खाएको हो। खेलको ६९ औं मिनेटमा मार्कुन्होसले गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध पिएसजीलाई २–१ गोलको अग्रता दिलाए। खेलको ७० औं मिनेटमा फ्रेडले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। खेलको अतिरिक्त समयमा नेयमारले गोल गर्दै पिएसजीलाई ३–१ गोलको जित दिलाए।
समूह ‘एच’ मै भएको अर्को खेलमा लाइपजिगले स्तानबुल बासाकेसिरलाई ४–३ गोलअन्तरले पराजित गरेको छ।
पिएसजीसँग हारेपनि समूह ‘एच’ मा युनाइटेड शीर्ष स्थानमा छ। पाँच खेलबाट युनाइटेडले ९ अंक बनाउँदा ९ अंक नै बनाएको पिएसजी दोस्रो स्थानमा छ। बासाकेसिरलाई पराजित गर्दै ९ अंक नै बनाएको लाइपजिग तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।