नेपालगञ्ज– सवारी साधनको कागजपत्र चेकजाँचका नाममा बाँकेको नेपालगञ्ज–६ फुल्टेक्रामा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ।
फुल्टेक्रामा सवारी साधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन्।
फुल्टेक्रादेखि नहरपुर्वा चोकको विभिन्न स्थानमा नेपाल प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन्। सवारीको कागजपत्र माग्ने क्रममा सवारी चालकहरुले कागजपत्र दिँदा समेत नियम विपरीत सवारी चलाएको आरोप लगाउँदै पैसा असुल्ने गरेका छन्।
वडा प्रहरी कार्यालय फुल्टेक्राबाट खटेका प्रहरीहरुले अधिकांश सवारी साधनसँग रकम असुल्ने गरेका छन् । प्रहरी बिटमा सुरक्षामा लागि खटिने प्रहरीहरुले निजी सवारी साधनभन्दा पनि गिटी, बालुवा बोक्ने ट्रिपर र यात्रुवाहक सवारीसाधनसँग बढी रकम असुल्ने गरेको चालकहरुले जानकारी दिएका छन्।
यता वडा प्रहरी कार्यालयका प्रहरीहरुले उपचारका लागि अस्पताल आउँदै गरेका बिरामीहरुलाई रोकी अनावश्यक दुःख दिएको घटनाप्रति मानव अधिकारकर्मीहरुले आपत्ति प्रकट गरेपछि वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले बिरामीहरुलाई उपचारका लागि पठाएको थियो।
यस्तै पछिल्लो समयमा फुल्टेक्रामा चेकजाँचका नाममा यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रहरी बिटमा थुन्ने काम प्रहरीहरुले गरेको सार्वसाधारणहरुले आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामाङले बिभिन्न पर्वहरुलाई लक्षित बनाइएको सुरक्षा योजनाका नाममा प्रहरीले यात्रुहरुलाई दुःख दिएको पाइए कडा कारवाही गर्ने बताउँदै फुल्टेक्रामा चेक जाँचका नाममा प्रहरीले जनतालाई दिएको दुःखका विषयमा छानबिन गरी दोषी प्रहरी माथि कारबाही गर्ने जिकिर गर्नु भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।