काठमाडौं- राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाइएको छ। नेपाली फुटबल टिमका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छानेका हुन्। जसमा विराज महर्जन पनि सामेल छन्।
बंगलादेशविरुद्ध मैत्रीपूर्ण दुई खेल खेल्नुअघिका ३४ खेलाडीमा थप २४ जना नयाँ खेलाडी गरी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई छानेको हो। विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटलाई मुख्य प्राथमिकतामा राखेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा कप्तान विराज महर्जनले पुनरागमन गरेका हुन्। विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणमा कुवेत र चाइनिज ताइपेइसँग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गर्दादेखि विराज टिमबाहिर परेका थिए। त्यस्तै, विमल घर्तिमगर, सन्तोष तामाङ, आदित्य चौधरी र दिनेश राजवंशीले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पुनरागमन गरेका छन्। विमल, सन्तोष र दिनेश विश्वकप छनोटको दोस्रो चरणको कुवेतविरुद्धको खेलअघि ‘डिस्को काण्ड’ सँगै राष्ट्रिय टिमबाट बाहिरिएका थिए।
बन्द प्रशिक्षण डिसेम्बर १२ देखि एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु हुनेछ।
विश्वकप छनोटमा समूह बी मा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक-एक साथै कुवेतसँग दुई खेल हारेको छ। नेपालले अब २०२१ को मार्चमा चाइनिज ताइपेइ, मार्चमा नै अस्ट्रेलियासँग र जुनमा जोर्डनसँग आफ्नै मैदानमा खेल्नेछ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा समूह बनाउनुअघिको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
राष्ट्रिय टिमको प्रशिक्षणमा को को बोलाइए?
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की, देव लिम्बु
डिफेन्डरः देवेन्द्र तामाङ, रन्जित धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान,
मिडफिल्डरः रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुबास गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङ्दम्बे, सन्जोक राई, नितिन थापा
फरवार्डः अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, विमल घर्तिमगर, राजिव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।