काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब शख्तर डोनेस्कसँग पराजित भएको छ। शख्तरले रियललाई २–० गोलले स्तब्ध पारेको हो।
रियल मड्रिडविरुद्ध घरेलु टिम शख्तरको जितमा डेन्टिन्हो र मानोर सोलोमनले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको शख्तरले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो। रियलले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न सकेन।
खेलको ५७ औं मिनेटमा डेन्टिन्होले गोल गर्दै शख्तरलाई अग्रता दिलाए। ८२ औं मिनेटमा सोलोमनले गोल गर्दै रियल मड्रिडविरुद्ध शख्तर डोनेस्कलाई २–० गोलको जित दिलाए। समूह ‘बी’ मा रहेको रियल मड्रिडको शख्तरसँग जारी च्याम्पियन्स लिगमा दोस्रो हार हो। यसअघि पहिलो खेलमा रियल शख्तरसँग ३–२ गोलअन्तरले पराजित भएको थियो।
त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा इन्टर मिलानले मोन्चेनग्लादबाखलाई ३–२ गोलअन्तरले पराजित गरेको छ। इन्टर मिलानलाई पराजित गरेको भए मोन्चेनग्लादबाख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने थियो।
समूह ‘बी’ को शीर्ष स्थानमा रहेको मोन्चेनग्लादबाखको पाँच खेलबाट आठ अंक हुँदा शख्तरको पाँच खेलबाट सात अंक छ। पराजित रियल मड्रिडको पनि सात अंक नै छ। मोन्चेनग्लादबाखलाई पराजित गरेको इन्टर मिलानको पाँच खेलबाट पाँच अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।