काठमाडौं– दुई खेलअघि नै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको जर्मन क्लब बायर्न म्युनिकले आफ्नो पाँचौं खेलमा भने बराबरी खेलेको छ। बायर्नले मंगलबार राति स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
समूह ‘ए’ मा रहेको बायर्न दुई खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको टिम हो। यता, एथ्लेटिको मड्रिडका लागि भने अन्तिम १६ मा पुग्ने नपुग्ने समूहको अन्तिम खेलले टुंगाे लाग्नेछ। घरेलु टिम एथ्लेटिको मड्रिडले आफ्नो अग्रता जोगाउन नसक्दा बायर्नसँग बराबरी खेल्दै अंक बाँड्न पुगेको हो।
खेलको २६ औं मिनेटमा नै जोआओ फेलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडका लागि खेलको ८५ औं मिनेटमा फिलिपेले थोमस मुलरलाई डिबक्सभित्र फोउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो। मुलरले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरी दिलाए। यसै समूहको अर्को खेलमा भने साल्सबर्गले लोकोमोटिभ मस्कोलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
समूह ‘ए’ को शीर्ष स्थानमा रहेको बायर्नले पाँच खेलबाट १३ अंक बनाएको छ। बायर्न यसअघि नै नकआउट चरणमा प्रवेश गरेको क्लब हो। एथ्लेटिको मड्रिडको पाँच खेलबाट ६ अंक हुँदा साल्सबर्गको चार र लोकोमोटिभ मस्कोको तीन अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।