कास्की- कास्की जिल्लामा एक ८० वर्षे वृद्धमाथि ५ वर्षे बालिकालाई बलात्कारको अभियोगमा मुद्दा दायर भएको छ। जिल्ला अदालतमा भैंसी गोठमा लगी बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा परिवारले दिएको जाहेरीपछि दर्ता भएको मुद्दा मंगलबार सुनुवाई भएको छ।
जिल्ला अदालतले पुर्पक्षका लागि उपस्थित भएका अभियुक्त हरिराम पुरीलाई हेरचाह केन्द्रमा राख्न आदेश गरेको छ। हेरचाह केन्द्र उपलब्ध हुन नसकेमा पुर्पक्षका लागि ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेशमा भनिएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले दम र उच्च रक्तचापको रोगी रहेका ती अभियुक्तलाई पुर्पक्षका लागि थुनामा कारागार पठाउन नसकिने भन्दै यस्तो आदेश गरेको हो।
७९ वर्षको वृद्ध भएको कुरा अभियोगपत्रबाटै पुष्टि भएकाले यसमा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(३) एवं ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२(२) समेत आकर्षित हुने र सोही कारण अनुसन्धानको क्रममा ५० हजार धरौटी राखी छोरीको जिम्मा जमानीमा छुटेको कारण सोही धरौटीलाई प्रस्तुत मुद्दामा पनि धरौटी कायम गरी तारेखमा राखिपाऊँ भनी बहस भएपछि जिल्ला अदालतले यस्तो आदेश गरेको हो।
२०७७ असोज १४ गते दिउँसो २०७७ पोखरा ३४ लाई हरिराम पुरीले मिस्री खान दिई ललाइ फकाइ कास्की रूपा गाउँपालिका- ७ पिप्लेस्थित प्रतिवादीको घर नजिकै रहेको गाईगोठभित्र लगेर बलात्कारको प्रयास गरेको अभियोगपत्रमा उल्लेख छ। उनले यसभन्दा अगाडि २०७६ माघ ८ गते घरभित्र ती बालिकालाई यौनजन्य क्रियाकलाप गर्ने प्रयास गरेको अभियोगपत्रमा जिकीर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।