पोखराको पृथ्वी चोकमा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक भत्काइएकोमा नेपाल आदिवासी जनजाति महासंघले भर्त्सना गरेको छ। आज एक विज्ञप्ती जारी गर्दै महासंघले अबिलम्ब राज्यको कोषबाटै सहिद थापाको शालिक पुनःप्रतिस्थापन गर्न माग गरेको छ।
'मुलुकको परिवर्तनका लागि राणाकालिन कालरात्रिका बिरुद्ध लड्ने योद्धाको शालिकको संरक्षण र सम्मान राज्य सरकारले गर्नुपर्नेमा सडक बिस्तार गर्दै तथाकथित विकासको नाममा नियोजित रुपले जातीवादी÷नश्लीय चिन्तन राखेर गौरवमय पुर्खाको शालिकलाई लज्जास्पद रुपमा क्षतविक्षत बनाएकोमा महासंघ निन्दा व्यक्त गर्दछ', विज्ञप्तीमा उल्लेख छ।
नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद् कास्की र नेपाल मगर संघ, जिल्ला समिति कास्कीलगायत आदिवासी जनजातिहरूको पूर्व जानकारी, परामर्श र सहमति बिना गुरिल्ला शैलीमा लखन थापा मगरजस्तो विभुतिको शालिक भत्काइएको पनि विज्ञप्तीमा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।