काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडमा आएदेखि नै इडन हाजार्ड चोटले सताइएका छन्। गएको शनिबार ला लिगा अन्तर्गत अलाभेससँग पराजित खेलमा हाजार्ड घाइते भएर बाहिरिए। जसका कारण उनी कम्तिमा तीन हप्ता मैदानबाहिर हुने भएका छन्।
२०१९ मा १ सय ५० मिलियन पाउण्डमा इंग्लिस क्लब चेल्सीबाट रियल मड्रिड गएदेखि नै हाजार्ड लगातार चोटले सताइएका छन्। भर्खरै चोटबाट फर्किएर लिगमा अलाभेससँगको खेल हाजार्डको तेस्रो सुरुवाती खेल मात्र थियो। जहाँ मड्रिड आएपछि उनले सातौँ चोट बोके।
यही चोटका कारण उनले च्याम्पियन्स लिगमा मंगलबार राति शख्तर डोनेस्कसँग हुने समूह चरणको खेल, ला लिगामा सेभियासँगको खेल र च्याम्पियन्स लिगमा नै मोन्चेनग्लादबाखसँगको खेल गुमाउने छन्। उनले ला लिगामा महत्वपूर्ण हुने एथ्लेटिको मड्रिडसँगको खेल पनि गुमाउने सम्भावना देखिन्छ।
यो सबै परिस्थितिमा पनि हाजार्डले मानसिक रुपले कमजोर महसुस नगरेको रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानले बताएका छन्। हाजार्डसँग मड्रिडमा आश बढिरहँदा उनी लगातार चोटले सताइए, जसका कारण सामाजिक सञ्जालमा उनलाई मजाकको पात्रसमेत बनाइएका छन्।
‘उनी थाकेका छैनन्, बलियो मनस्थितिमा नै छन्। हाजार्डको समय अहिले राम्रो चलिरहेको छैन। त्यो दुर्भाग्य मान्नुपर्छ। चोटका समस्या अहिले कुनै एक क्लबमा मात्र पनि होइन’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।