काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सभा तथा जुलुस नगर्न अनुरोध गरेको छ। मंगलबार एक विज्ञप्तिमार्फत् कार्यालयले त्यस्ता गतिविधिले संक्रमण भयावह बनाउने बताएको छ।
'पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरु नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ।
कार्यालयले उल्लेखित क्रियाकलाप गरे/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ।
विज्ञप्तिमा कोरोना विपद्को अवस्थामा सरकारले तोकेको निर्देशनको पालना गर्नु/गराउनु प्रत्येक नागरिकको दायित्व हुने स्मरण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।