काठमाडौं–सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल वरदान भएको बताएका छन्।
वसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि वरदानझैं रहेको बताए। निरोगी र रोगी दुवैका लागि नेचुरोपेथी उपयोगी रहेको उनको भनाइ थियो।
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले नेचुरोपेथी उपचार गराएकै कारण आफू ८३ बर्षको उमेरमा पनि स्वस्थ रहेको बताए। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र सोभियत ढकालले प्राकृतिक पद्दति अहिले सबैका लागि आवश्यक रहेको उल्लेख गर्दै यसका लागि राज्यको पनि ध्यान जानुपर्ने बताए।
अभिनेता रमेश उप्रेती तथा नेपाल प्रहरीका एसपी दानबहादुर कार्कीले प्राकृतिक चिकित्साप्रति विश्वास गर्ने भएकाले आफूहरुले नियमित रुपमा नेचुरोपेथी सेवा लिने गरेको बताए। कार्यक्रममा टोखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल, जिल्ला विकास समिति लमजुङका पूर्वसभापति जीवनराज विष्ट, वरिष्ठ पत्रकार टंक पन्तलगायतले नेचुरोपेथी अस्पतालको सफलताको कामना गरेका थिए।
अस्पतालका अध्यक्ष गणेश पाण्डेले दीर्घकालिन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै काठमाडौं नेचुरोपेथी अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताए।
अस्पतालका मेडिकल निर्देशक डा यञ्जन गैह्रेले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिरहेको बताए। विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने काठमाडौं नेचुरोपेथी अस्पतालमा प्यारालाइसिस, ब्रेन ह्यामरेज, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने अस्पतालका डा गैह्रेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।