

काठमाडौं– शेरबहादुर खड्का स्मृति केएनपी चौथो राष्ट्रिय महिला भलिबलको उपाधिका लागि साविक विजेता एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको कवर्डहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो। यी दुई टोली गत संस्करणको फाइनलिष्ट हुन्।
कृपा अधिकारी नेपाली सेनामा अनुबन्ध भएपछि न्यु डायमण्डको प्रदर्शन खस्किएको देखियो। समूह 'बी'मा नेपाल पुलिससँग पराजित हुँदै न्यु डायमण्ड समूह उपविजेतामा सीमित भएपछि एपlएफसँगको भेट सेमिफाइनलमै सम्भव भएको हो ।
पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा पुनरागमन गर्दै न्यु डायमण्डले २१–२५ ले आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका दुई सेट एपिएफले २५–१० र २५–२३ ले जितेर लगातार चौथो पटक फाइनलमा पुग्न सफल भयो। यसअघिका तीनै प्रतियोगितामा फाइनलमा पुगेको न्यु डायमण्ड भने यसपटक सेमिफाइनलबाट माथि जान सकेन।
दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चल भलिबल संघको टोलीबिरुद्ध बिभागीय टोली नेपाल पुलिस हाबी भयो । पुलिसले ३–० को सेटमा खेल जितेको हो। पश्चिमाञ्चलबिरुद्ध सहज जित हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो ।प्रतियोगिताको विजेता र तेस्रो स्थान हासिल गर्ने टोलीको नगद पुरस्कार मार्वल नेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सन्चिटीले प्रायोजन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।