काठमाडौं– आर्सनल प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग पराजित भएको छ। आफ्नै मैदानमा भएको खेलमा आर्सनल वुल्भ्ससँग २–१ गोलले पराजित भएको हो।
वुल्भ्सको जितमा पेड्रो नेटो र ड्यानियल पोडेन्सले गोल गरे। आर्सनलका लागि गाब्रियलले गोल फर्काए। खेलको २७ औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाए। तर त्यसको तीन मिनेटपछि नै आर्सनलका गाब्रियलले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याए। खेलको ४२ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वुल्भ्सलाई २–१ गोलको अग्रता दिलाए।
पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको वुल्भ्सले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो। प्रिमियर लिगमै भएको अर्को खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेका छन्। बराबरीसँगै टोटेनहम भने लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ।
टोटेनहमको १० खेलबाट २१ अंक हुँदा दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलको १० खेलबाट २१ अंक नै छ। बराबरीमा रोकिएको चेल्सीले भने शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको १० खेलबाट १९ अंक छ। आर्सनललाई पराजित गरेको वुल्भ्स भने १० खेलबाट १७ अंक बनाउँदै लिगको छैटौं स्थानमा उक्लिएको छ। पराजित आर्सनलको १० खेलबाट १३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।