काठमाडौं–बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ। घरेलु टिम बार्सिलोनाले ओसासुनालाई ४–० गोलले पराजित गरेको हो।
बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोनी ग्रिजम्यान र मार्टिन ब्राथवेटले गोल गरे। खेलको २९ औं मिनेटमा नै मार्टिनले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। खेलको ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। खेलको ५७ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए। ७३ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले ४–० गोलको जित निकालेको हो। अधिकांश समय बार्सिलोनाले बल आफ्नो पकडमा राखेको खेलमा ओसासुनाले दबाबमा खेलेको थियो। ला लिगा फुटबलको लिग लिडर रियल सोसाइडेड भने बराबरीमा रोकिएको छ। रियल सोसाइडेडले भिल्लारियलसँग १–१ गोलको बराबरी खेलेको हो।
जितसँगै लिगतको सातौं स्थानमा रहेको बार्सिलोनाले ९ खेलबाट १४ अंक बनाएको छ। पराजित ओसासुनाको भने १० खेलबाट ११ अंक छ। लिगको शीर्ष स्थानमा रहेको रियल सोसाइडेडको ११ खेलबाट २४ अंक छ। लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ९ खेलबाट २३ अंक हुँदा तेस्रो स्थानमा रहेको भिल्लारियलको ११ खेलबाट २० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।