काठमाडौं- गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बलका बाहिनीपतिलाई आ–आफ्नो मातहतका कार्यालय तथा कर्मचारीहरुको नियमित अनुगमन गरी ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा खरो उत्रन निर्देशन दिएका छन्। हालै बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका बााहिनीपतिलाई आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
गृहसचिव न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशिल भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन गरेका थिए।
त्यस अवसरमा उनले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तीमा पूर्ण व्यावसायिक भई कार्य सम्पादनमा उत्कृष्ट योगदान दिने समेत बताए।
विपद् व्यवस्थापन कार्यमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा गरेको योगदानको पनि सह्राना गरेका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तीका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशील रहिरहेको चर्चा गर्दै संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकहरुको उद्धारलगायतका जिम्मेवारीहरुमा परिमाणमुखी कार्यसम्पादनमा सकृयताकासाथ कृयाशील रहेको बताएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले गृहसचिवबाट भएका निर्देशनहरुलाई सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुबाट अक्षरस पालना हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबावु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।