काठमाडौं– ३ थान सुनका बाला र करिब १२ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ का ३२ वर्षीय गंगाबहादुर थापामगर र तेह्रथुमको छथर गाउँपालिका–४ का ३२ वर्षकै कुमार सेन्चुरी छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भन्सार छली चोरी निकासी गरी सुनको कारोबार गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले गत शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थापामगरलाई गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको थियो। उनको शरीर खानतलासी गर्दा ११ लाख ८६ हजार ५ सय रुपैयाँ बरामद भएको थियो।
अनुसन्धानका क्रममा थापामगरले राजश्व छली ल्याएको सुनका बालाहरु कोटेश्वरमा स्काई ज्वलेर्स सञ्चालन गरेर बसेका सेन्चुरीलाई बेच्ने गरेको बयान दिएका थिए। उनकै बयानका आधारमा आइतबार महाशाखाको टोलीले सेन्चरीको ज्वेलर्सबाट ३ थान बाला (१४९.९५ ग्राम) बरामद गरी उनलाई पनि पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनालाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको महाशाखाले जनाएको छ।
साथै भन्सार चोरी निकासी गरी ल्याएको बेवारिसे अवस्थामा फेला परेको सेतो रंगको मोटरसाइकल समेत फेला पारी महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।