काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आउन थालेको छ। यो साता सुनको अन्तर्राष्ट्रिय मूल्य अधिकतम प्रति औंन्स १८७१ डलर पुगेर १८०९ डलरमा झरेको छ। कोभिड–१९ का कारण लगातार बढिरहेको सुनको मूल्य केही समयदेखि घटिरहेको छ। तत्काल सुनको मूल्यमा प्रति औंन्स २५० डलरसम्मले तल झर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
डलरको भाउ र सुनको मूल्य सँगै घटिरहेको छ। डलर कमजोर हुँदा पनि सुनको मूल्य बढ्नुलाई त्यति स्वाभाविक मानिदैन। कोभिड–१९ महामारीको समयमा सम्पूर्ण लगानीका ढोका बन्द हुँदा लगानीकर्ताको ध्यान सुनमा गएको हो।
मूल्य घट्ने क्रम अझै केही समय रहने देखिएको छ। जो बाइडेनले चुनाव जितेसँगै अमेरिकाले कोभिड नियन्त्रणका लागि लकडाउन गर्ने चर्चासँगै सुनको मूल्यमा सुधार भएको थियो। यसको असर केही समय देखिए पनि पछिल्ला दिनमा पुनः सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ।
अमेरिकी अर्थतन्त्रको तथ्याङ्क केही सुधारात्मक देखिएकाले केही समयदेखि सुनको मूल्यमा गिरावट आइरहेको विश्लेषण गरिएको छ। अमेरिकाले सन् २०२१ का लागि स्टिमुलस प्याकेजको तयारी गरिरहेको छ। उक्त आर्थिक पुनर्उत्थानको प्याकेजले अमेरिकी अर्थतन्त्र केही सुधार हुने अपेक्षा गरिएको छ।
यसका साथै कोभिड–१९ को खोपमा सफलता हात लागेसँगै सुनको मूल्यमा उल्लेख्य सुधार आएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि गिरावट आएको छ। प्रतितोला एक लाख २ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य पछिल्लो समय ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यमा गिरावट आउन थालेसँगै नेपालीहरुले केही राहत पाउने भएका छन्। मंसिर महिनादेखि नेपाली बजारमा सुनको सिजन मानिन्छ। विवाहको सिजनमा सुनको बिक्री धेरै हुने भएकाले नेपालीहरुले राहत पाउने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा अझै गिरावट आउने संकेतले गर्दा नेपाली बजारमा सुनको मूल्य अझै सस्तिने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।