काठमाडौं- पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेको पूर्वसभासदसहित ७ जनालाई उन्मुक्ति दिएर मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वलिक कार्यालय पर्साले बिहीबार जिल्ला अदालतमा पूर्वसभासद राजकुमार गुप्तासहितलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेको हो।
गत कात्तिक ६ गते पर्साको बिन्दवासिनी गाउँपालिकाका सत्तारुढ नेकपाका सचिव चौरसियामाथि सोही पार्टी सदस्यले आक्रमण गर्दा उनको ज्यान गएको थियो। उक्त मुद्दामा चौरसियाका भाइले पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर सरकारी वकिल कार्यालयले भने गुप्तासहित ७ जनालाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साका न्यायाधीवक्ता पदमबहादुर कार्कीले नेपाल लाइभसँग भने, ‘उन्मुक्ति दिएको भन्न मिल्दैन। अनुसन्धान गर्दा उहाँसहित आरोप लागेका केही व्यक्तिको संलग्नता नदेखिएपछि उनीहरूबाहेकविरुद्ध मुद्दा दर्ता गरिएको हो।’
गुप्तासहित वकिल गद्दी, नागेन्द्र चौधरी, धिरज चौरसिया, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहविरुद्ध मुद्दा नचालाउने निर्णय गरेको हो। चौरसिया हत्यामा संलग्न भएको आरोपमा मुख्य अभियुक्त अखिलेश भनिने अशेसरप्रसाद चौरसिया, हनिफ मियाँ देवान, देवा सहनी, निरन्जन तिवारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनीहरुसहित २० जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको छ।
अखिलेशसहितको टोलीले कात्तिक ६ गते पर्साको बिन्दवासिनी गाउँपालिकाका सत्तारुढ नेकपाका सचिव चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो।
पर्सा बिन्दवासिनी गाउँपालिका–५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा आयोजित नेकपा बिन्दवासीनी गाँउपालिका कमिटीको सपथ कार्यक्रमस्थल बाहिर झडप भएको थियो।
दुई पक्षबीच विवाद हुँदा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा चौरसिया घाइते भएका थिए। घाइते चौरसियाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।