काठमाडौं- इटालियन क्लब नापोलीमा आफ्ना सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाप्रति श्रद्धाञ्जली दिइएको छ। युरोपा लिग खेलमा क्रोएसियन क्लब रिजेकासँगको खेलमा नापोलीका सबै खेलाडीले खेलअघि म्याराडोनाको जर्सी लगाएर मैदानमा उभिए।
६० वर्षको उमेरमा बुधबार निधन भएका म्याराडोना स्पेनिस क्लब बार्सिलोनाबाट नापोलीमा ६९ लाख पाउण्डको कीर्तिमानी मूल्यमा अनुबन्धित भएका थिए। सन् १९८४ को जुलाई ५ मा नापोलीले उनलाई आफ्नो खेलाडीका रुपमा भव्य स्वागत गरेको थियो। उनको स्वागतमा त्यही समय ७५ हजार समर्थक रंगशालमा जम्मा भएका थिए।
नापोलीमा नै म्याराडोनाले आफ्नो खेल जीवनको उचाइ समातेका थिए। उनी क्लब र समर्थकको मनमा बस्न सफल खेलाडी बने। पाँच वर्षको नापोलीसँगको यात्रामा उनले दुई पटक ‘सिरी ए’ को उपाधि जिते भने दुई पटक उपविजेता बने। यस्तै एकपटक युईएफए कप र एक पटक कोपा इटालियाको उपाधि पनि उचाले।
यसैले विश्वभरका समर्थकभन्दा भिन्न रुपमा इटालियन क्लब नापोली समर्थकले म्याराडोनालाई लिने गर्छन्। बिहीबार बेलुका नापोली मैदान उज्यालौ पारिएको थियो। बाहिर समर्थकको उपस्थिति ठूलो थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।