नयाँदिल्ली–भारतमा सरकारी तीन कानुनको विरोधमा सडकमा उत्रेका किसानले आन्दोलनको पहिलो रात सडकमै बिताएका छन्। कृषि कानुनको विरोधमा नयाँदिल्लीसम्म पुगेर प्रदर्शन गर्ने लक्ष्यका साथ उनीहरु सडकमा ओर्लिएका हुन्। उनीहरुलाई फर्काउने प्रयास प्रहरीले धेरै गरेको थियो। तर उनीहरु निरन्तर अघि बढिरहेका छन्।
‘चलो दिल्ली’ नारासहित ५० हजार किसान सडकमा उत्रिएका छन्। रोविनदिप सिह नामका एक किसानले समाचार एजेन्सी एएनआइसँग आफूहरुले एक महिना आन्दोलन गर्न सक्ने चेतावनी दिए। ‘हामीसँग एक महिनालाई पुग्ने खानेकुरा छन्,’उनले भने, ‘खाना वनाउने र अन्य सामान पनि हामीसँग छन्। हामीसँग ठण्ठीबाट बँच्न कम्वल पनि छ।’
५० हजार किसान किन जाँदैछन् दिल्ली ?
‘दिल्ली चलो’ अभियानअन्तर्गत दशौँ हजारको संख्यामा किसानहरु सरकारको विरोध गर्दै राजधानी दिल्लीतर्फ लाग्ने क्रममा शुक्रवार पनि जारी रहने बताइएको छ। उनीहरुलाई फर्काउने सरकारको प्रयास असफल भईरहेको छ।
५० हजारको संख्यामा हरियाणाबाट उनीहरु दिल्लीतर्फ मार्च गरिरहेका हुन्। यस्तो मार्च अन्य सहरबाट पनि सुरु भएकाले दिल्लीमा ठूलो मात्रामा किसानको जमघट हुने देखिएको छ। कोरोना महामारीका बीचमा यत्रो संख्यामा जुलुस र प्रदर्शन भए पनि नरेन्द्र मोदी सरकार अप्ठेरोमा पर्ने देखिएको छ। यो प्रदर्शनका कारण कोरोना संक्रमण थप अनियन्त्रित हुने देखिएको छ। प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। तर उनीहरु त्यसलाई सहँदै अघि बढिरहेका छन्। प्रहरीले किसानलाई रोक्न अश्रु ग्याँस, पानीको फोहोरा र सडक अवरोध गरेको थियो । प्रहरीसँग झडपको क्रममा पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार भएको छ । बिहीबार दिनभर प्रदर्शन गरेका उनीहरुलाई दिल्लीको सिमानामा पर्ने एउटा पुलबाट प्रहरीले अघि बढ्न दिएको छैन ।
किसान अगुवाहरुले यस आन्दोलनमा ५० हजार भन्दा धेरै किसान सहभागी भएको दावी गरेका छन् । सत्तारुढ दल भाजपाले भने प्रतिपक्षी दल कंग्रेसलाई आफ्नो स्वार्थका लागि किसानलाई उचालेको आरोप लगाएको छ ।
किसानहरुले दिल्लीको सिमानामा धर्ना दिईरहेका छन्। केही महिना अघिदेखि नै भारतका विभिन्न सहरमा किसानहरु सरकारको कृषि विधेयकको विरोधमा आन्दोलित बनेका थिए ।
यसै आन्दोलनलाई लिएर हरियणा र पन्जाबका मुख्यमन्त्रीहरुबीच मनमुटाव सुरु भएको छ। किसानको आन्दोलनलाई प्रहरीले बल प्रयोग गरी दबाएकोमा हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरलाई पन्जाबका मुख्यमन्त्रीले कडा आलोचना गरेका छन् ।
पन्जाबका मुख्यमन्त्री अमरेन्द्र सिंहले खट्टरलाई महामारीको बेलामा ‘सस्तो राजनीति’ गरेको भन्दै आलोचना गरेका थिए। मुद्दाबाट भागेर ट्वीट मात्रै गरिरहेको उनको भनाइ थियो। आन्दोलनमा पन्जाब र हरियाणाका किसानहरु पनि सहभागी छन्।
बुधबारदेखि नै उनीहरुले दिल्लीका लागि मार्च गरेकोमा प्रहरीको अवरोधपछि सिमानामा रोकिएका छन्। तर बिहीबार दिउँसो दुई घण्टा लामो झडपको क्रममा ठूलो हताहत भएको विविसी हिन्दीले जनाएको छ । दिल्लीको सिमाना नजिकै २०० किमि टाढा पर्ने पुलमा किसानहरु रोकिएका छन् । उत्तर प्रदेश, हरियाणा, उत्तराखण्ड, राजस्थान, केराला र पन्जाबका किसानहरु प्रदर्शनमा सहभागी छन्।
केन्द्रीय कृषि मन्त्री नरेन्द्र सिह तोमोरले किसानसँग वार्ता गर्न तयार रहेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन्। उनले सरकार वार्तावाटै किसानहरुको माग सम्वोधन गर्न तयार भएकाले आन्दोलनमा उत्रन आवश्यक नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।