काठमाडौं- युइएफए च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिक अन्तिम १६ मा पुगेको छ। बुधबार राति भएको खेलमा साल्जबर्गलाई ३–१ ले हराउँदै बायर्न समूह चरणको दुई खेल पहिले नै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो।
खेलको ४२औँ मिनेटमा लेवान्डोस्कीको गोलमा सुरुवाती अग्रता बनाएको बायर्नका लागि ५२औँ मिनेटमा कोमनले गोल गरे। ६६औँ मिनेटमा रोकाले दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि १० जनामा सीमित भएको बायर्नका लागि ६८औँ मिनेटमा सानेले तेस्रो गोल गरे। खेलको ७३औँ मिनेटमा बिरिशाको गोल साल्जबर्गका लागि पर्याप्त हुन सकेन।
यस्तै बुधबार राति नै भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २–० ले हराएको छ। ३३औँ मिनेटमा नै आर्टुरो भिडाल रेफ्रिसँगको विवादमा दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि मिलान टिम थप दबाबमा परेको थियो। त्यसअघि नै सातौँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै हाजार्डले मड्रिडलाई अग्रता दिलाइसकेका थिए।
खेलको ५९औँ मिनेटमा हाकिमीको आत्मघाती गोलका कारण इन्टर मिलान थप समस्यामा देखियो। यसले च्याम्पियन्स लिगमा अघि बढ्न इन्टर मिलानलाई अब बाँकी दुई खेलमा मुस्किल हुने देखिन्छ। अहिले चार खेल सकिँदा पुछारमा रहेको मिलानको दुई अंक मात्र छ। रियल मड्रिडले इन्टरलाई हराएसँगै सात अंक बनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।