काठमाडौं- फुटबल स्टार डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले जनाएकाे छ। केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो। त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको बताइएको थियो।
म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। ४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए। उनले विश्वकपका ९१ खेल खेलेका थिए। म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए।
सन् १९९१ मा लागुपदार्थ सेवन गरेको भन्दै १५ महिना प्रतिबन्ध लगाइएको थियो। ३७औं जन्मदिन पारेर सन् १९९७ मा उनले फुटबल खेलजीवनबाट सन्यास लिएका थिए।
सन् २००८ मा घरेलु टिमको मुख्य प्रशिक्षक बनेका म्याराडोना सन् २०१० को विश्वकपमा अर्जेन्टिना हारेपछि उक्त भूमिकाबाट पनि बाहिरिएका थिए। सन् २०१० को विश्वकप फुटवलमा क्वार्टरफाइनल पुगेको अर्जेन्टिनालाई जर्मनीले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।