सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरेर सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन्। लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ बुधबारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले सबै नागरिक समान भएकाले कसैलाई पनि अपमान गर्न नहुने बताए।
सेवाग्राहीले छिटो र सहज हिसाबले काम खोजिरहेको हुनाले कर्मचारी साथीहरुले त्यो सेवा दिन सक्नुपर्ने बताए। कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले महिलामात्र हिंसामा नपर्ने भन्दै पुरुष पनि हिंसामा पर्न थालेको हुनाले हिंसाको अन्त्य हुनु जरुरी रहेको बताइन्।
उनले यस अभियानअन्तर्गत नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, सुरक्षित गृहमा फलफूल वितरण गर्ने, नगरपालिकाको अगुवा विद्यालयमा सुझाव पेटिका राख्नेलगायत निबन्ध प्रतियोगिताको समेत आयोजना गरिने योजना रहेको नेपालले जानकारी दिइन्।
कुटपिट गरेको मात्र हिंसा नभएको भन्दै उपप्रमुख नेपालले व्यक्तिगत रुपमा कोही कसैलाई आक्षेप लगाउन नहुने समेत बताइन्। प्रतिबद्धतामात्र नभई यसलाई सबैले व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ।
प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर १० गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान मेलम्ची नगरपालिकामा पनि मनाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।