काठमाडौं- युइएफए च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल हुँदै छन्। समूह चरणमा चौथो चरणका खेलहरुमा दुई खेल नेपाली समयअनुसार ११ः४० मा साथै छ खेल १ः४५ मा हुनेछ।
११ः४० मा हुने खेलमा ओलम्पियाकोस र म्यानचेस्टर सिटी साथै मोन्चेनग्लादबाख र शख्तर डोनेस्क खेल्दैछन्। १ः४५ मा हुने खेलमा मार्सेली र पोर्टो, लिभरपुल र एटलान्टा, इन्टर मिलान र रियल मड्रिड, बायर्न म्युनिक र साल्सबर्ग, एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्को साथै आयाक्स र मिड्जील्यान्ड खेल्नेछन्।
ओलम्पियाकोसले इंग्लिस टिमसँग खेलेका पछिल्ला आठ खेलमा एक खेल मात्र जितेको छ। जसमा तीन बराबरी र चार हार भएको छ। म्यानचेस्टर सिटीको भने ग्रिक विपक्षीसँग २०११ पछि पहिलो अवे खेल हो। यसअघिको तीनै खेल जितेको म्यानचेस्टर सिटी अन्तिम १६ मा बढ्न बलियो स्थितिमा देखिन्छ।
गएको सिजन जस्तै बायर्न म्युनिक यो सिजन पनि समूह चरणमा राम्रो लयमा देखिएको छ। गएको सिजन समूह चरणमा २४ गोल गरेर ५ गोल मात्र खाएको बायर्न म्युनिकको इतिहासमा नै सबैभन्दा राम्रो अवस्था थियो। अहिले तीन खेलमा तीनै खेल जितेको बायर्नले १२ गोल गरेर ३ गोल खाएको छ। शीर्ष स्थानमा रहेको बायर्न अघि बढ्न बलियो अवस्थामा नै देखिन्छ।
बुधबार राति हुने खेलमा सबैभन्दा रोचक अवस्था रियल मड्रिड र इन्टर मिलानबीच देखिँदैछ। रियल मड्रिडको तीन खेलमा चार अंक रहेको छ भने इन्टर मिलानको तीन खेलमा दुई अंक रहेको छ। समूहमा मोन्चेनग्लादबाख पाँच अंकसहित शीर्ष स्थानमा छ भने शख्तर डोनेस्क चार अंकसहित दोस्रो स्थानमा छ।
युरोपियन प्रतिस्पर्धामा रियल मड्रिडविरुद्ध खेलेका पछिल्ला चार खेलमा इन्टर मिलान तीन खेलमा पराजित भएको छ। एक खेल जितेको छ। रियल मड्रिडले १९९८ पछि इन्टर मिलानमा पहिलो अवे खेल खेल्दै छ। च्याम्पियन्स लिगमा त्यसबेला रियल मड्रिड ३–१ ले पराजित भएको थियो।
मंगलबार रातिको खेलले समूह ‘ई’बाट चेल्सी र सेभिया साथै समूह ‘जी’ बाट बार्सिलोना र युभेन्टस अन्तिम १६ मा पुगिसकेका छन्। बुधबार रातिको खेलपछि पनि अन्तिम १६ मा पुग्ने केही टिमको टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।