काठमाडौं– इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। युभेन्टसले हंगेरीको फेरेन्साबारोसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।
घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोरटाले गोल गरे। फेरेन्साबारोसीका लागि माइर्टो युजनीले गोल गरे। खेलको १९ औं मिनेटमा माइर्टोले गोल गर्दै फेरेन्साबारोसीलाई अग्रता दिलाएका थिए। तर युभेन्टसले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो।
खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा पुर्याए। करिब २० यार्ड टाढाबाट प्रहार गर्दै रोनाल्डोले गोल गरेका थिए। यो गोलसँगै रोनाल्डोले आफ्नो खेल करिअरमा ७४९ गोल पूरा गरे। खेलको अतिरिक्त समयमा मोरटाले गोल गरेपछि युभेन्टसले २–१ गोलको जित निकालेको हो।
यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह ‘जी’ बाट अन्तिम १६ मा स्थान बनाएको छ। यो समूहबाट बार्सिलोना पनि नकआउट चरणमा प्रवेश गरेको छ। दुई खेल बाँकी छदै डायनामो किभ र फेरेन्साबारोसी भने समूह चरणबाटै बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।