काठमाडौं– बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनिस क्लब बार्सिलोनाले युक्रेनको डायनामो किभलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो।
घरेलु टिम डायनामोविरुद्ध कप्तान लियोनल मेस्सी फ्रान्की डि योङ लगायतका खेलाडीलाई विश्राम दिएको खेलमा बार्सिलोनाले सहज जित निकालेको हो। बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा सर्जिनो डेस्ट र एन्टोनी ग्रिजम्यानले समान १–१ गोल थपे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले चारै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५२ औं मिनेटमा सर्जिनोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ५७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए। खेलको ७० औं मिनेटमा उनले नै पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले ३–० गोलको अग्रता लियो। खेलको अतिरिक्त समयमा गिज्रम्यानले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए।
च्याम्पियन्स लिगको समूह ‘जी’ मा रहेको बार्सिलोनाले खेलेको चारै खेलमा जित निकाल्दै दुई खेल अघि नै अन्तिम १६ मा स्थान बनाएको हो। चार खेलबाट बार्सिलोना १२ अंक बनाउँदै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।