बार्सिलोना- एल क्लासिको भिडन्तअन्तर्गत बार्सिलोना र रियल म्याड्रिडले २-२ गोलको बराबरी खेलेका छन्। सिजनको ला लिगाको उपाधि जितिसकेको बार्सिलोना १० खेलाडीमा सीमित भएपनि बराबरी खेल्न सफल भएको हो।
दुवै टिमले दुवै हाफमा १-१ गोल गरेका थिए। खेलको दशौं मिनेटमा लुइस सुआरेजले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। तर १४ मिनेटमा रियलका क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काएका थिए। पहिलो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित बन्यो। रियलका मार्सेलोलाई फउल गरेपछि बार्सिलोनाका सेर्जी रोबर्टोलाई रातो कार्ड देखाइएको थियो। रोबर्टोले मार्सेलीलाई गालामा हानेका थिए। त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले १० खेलाडीमै खेल्न बाध्य भयो।

५२ मिनेटमा लिओनल मेसीले गोल गरेर बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। तर ७२ मिनेटमा काउन्टर आक्रमणमार्फत रियलका गारेथ बेलले गोल गर्दै खेललाई दोस्रो पटक बराबरीमा ल्याएका थिए।

बराबरीसँगै बार्सिलोनाले ला लिगमा सिजनमा अपराजित यात्रा कायम राखेको छ। लिगमा ३ खेल्न बाँकी बार्सिलोनाको ८७ अंक छ। २ खेल खेल्न बाँकी दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७५ र ३ खेल बाँकी रियल म्याड्रिडको ७२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।