इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जौवारी स्थापना भएको छ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।
ईलाम जिल्लाको सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारबाट नै दैनिक कार्य सुचारु गरेको छ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो। नेपाल सरकारको नीतिअनुरुप सिमानालाई अझ मजबुत बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टहरु थप गर्दै लगिएको हो।
हालसम्म १८९ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोस्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।