दाङ- आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानी बस्ने २८ वर्षीय जीवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए। उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।