काठमाडौं– लिग लिडर एसी मिलानले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा एसी मिलानले नापोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम नापोलीलाई पराजित गर्ने क्रममा एसी मिलानका ज्लाटन इब्राहिमोभिचले दुई गोल गरे। त्यस्तै, जेन्स पिटर हगले एक गोल थपे। १० खेलाडीमा सीमित भएको नापोलीका लागि ड्राइस मेर्टेन्सले गोल फर्काए।
खेलको २० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै पहिलो हाफसम्म एसी मिलानलाई १–० गोलको अग्रता दिलाए। ५४ औं मिनेटमा इब्राहिमोभिचले अर्को गोल थप्दा एसी मिलानले नापोलीविरुद्ध २–० गोलको अग्रता लियो। खेलको ६३ औं मिनेटमा नापोलीका लागि मेर्टेन्सले गोल गर्दै २–१ को स्थितिमा ल्याए। तर खेलको ६५ औं मिनेटमा नापोली १० खेलाडीमा झर्यो। टिमोइ बाकायोकोले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। खेलको अतिरिक्त समयमा पिटर हगले गोल गर्दै नापोलीविरुद्ध एसी मिलानलाई ३–१ गोलको जित दिलाए।
त्यस्तै, इटालियन सिरि ए फुटबल मै भएको अर्को खेलमा इन्टर मिलानले टोरिनोविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ। २ गोलले पछि परेको इन्टर मिलानले दोस्रो हाफमा चार गोल गर्दै ४–२ गोलको जित निकालेको हो। त्यस्तै, अर्को खेलमा रोमाले पार्मालाई ३–० गोलअन्तरले पराजित गरेको छ।
लिगको शीर्ष स्थानमा रहेको एसी मिलानको जितपछि आठ खेलबाट २० अंक भएको छ। पराजित नापोलीको भने १४ अंक छ। त्यस्तै, इन्टर मिलान जितसँगै १५ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।