काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले लेस्टरलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम लिभरपुललाई जिताउन डिओगो जोता र रोबर्टो फिर्मिनोले गोल गरे। लिभरपुलले एक गोल भने उपहारस्वरुप पाएको थियो। खेलको २१ औं मिनेटमा लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गरेपछि लिभरपुलले १–० गोलको अग्रता बनाएको थियो। खेलको ४१ औं मिनेटमा जोताले गोल गरेपछि लिभरपुलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनायो।
खेलको ८६ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाए। आइतबार राति नै भएका अन्य खेलमा वेष्टहामले शेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गर्दा आर्सनललाई लिड्स युनाइटेडले गोलरहित बराबरीमा रोकेको छ।
जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ। ६ खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको लिभरपुलको २० अंक छ। समान खेलबाट २० अंक नै बनाएको टोटेनहम भने लिगको शीर्ष स्थानमा छ। पराजित लेस्टर भने १८ अंकसहित लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।