एजेन्सी–अमेरिकी नागरिकले आगामी डिसेम्बर ११ देखि कोभिड–१९ खोप पाउने भएका छन्। कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ सलोईले खोपको स्वीकृति प्राप्त गरेको २४ घण्टाभित्र यसलाई खोप केन्द्रमा पु¥याउने योजना बनाएको बताए।
कोरोना भाइरसले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म १ करोड २२ लाख १९ हजार २ सय ९ जना संक्रमित भएका छन् भने २ लाख ५६ हजार ७ सय २३ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा ३४ हजार ३ सय १९ जनाको मृत्यु भएको छ।
औषधि कम्पनी फाइजर र यसको सहयोगी कम्पनी बायोएनटेकले शुक्रबार कोभिड–१९ को खोपलाई अमेरिकामा आपतकालीन स्वीकृतिका लागि आवेदन दिइसकेको छ। कम्पनीका अनुसार यो खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसमा ९४ प्रतिशत प्रभावकारी देखिएको छ।
फाइजरका अनुसार सन् २०२० मा ५ करोड र २०२१ मा १.३ अर्ब डोज खोप उत्पादन गर्नेछ। प्रत्येक व्यक्तिलाई खोप दिइनेछ ।
खोपलाई स्वीकृति दिन अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिको बैठक १० डिसेम्बरमा बस्दैछ। डा. सलोईले स्वीकृति पाएलगत्तै ११ या १२ डिसेम्बरबाटै खोप दिन सुरु गरिने बताए।
खोप प्रत्येक राज्यको जनसंख्याको आधारमा वितरण गरिनेछ। पहिले कसलाई दिने भन्ने तय भने राज्यले गर्ने जाइएको छ। तर सबैभन्दा पहिले फ्रन्टलाइनमा काम गर्ने र वृद्धहरुलाई दिइनेछ। उनले आगामी वर्षको मेसम्म ७० प्रतिशतलाई खोप दिने योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।