काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ। घरेलु टिम भिल्लारियलसँग रियल मड्रिड १–१ गोलमा रोकिएको हो।
खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा रियल मड्रिड भिल्लारियलसँग अंक बाँड्न पुगेको हो। खेलको दोस्रो हाफमा नै मारिन्होले गोल गर्दै रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाएका थिए। उनकै गोलमा रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।
खेलको ७५ औं मिनेटमा रियल मड्रिडका थिबाउट काउर्टिसले सामुएल चुकवइजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि भिल्लारियलले पेनाल्टी पाएको थियो। जिरार्ड मोरेनोले पेनाल्टीबाट गोल गर्दै भिल्लारियललाई १–१ गोलको बराबरी दिलाए। त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा सेभियाले सेल्टा भिगोलाई ४–२ गोलअन्तरले पराजित गरेको छ।
९ खेलमध्ये पाँचमा जित, दुईमा बराबरी र दुई खेलमा हार ब्यहोरेको रियल मड्रिड १७ अंक बनाएर लिगको चौथो स्थानमा छ। रियल मड्रिडलाई बराबरीमा रोकेको भिल्लारियल भने लिगको तेस्रो स्थानमा झरेको छ। उसको १० खेलबाट १९ अंक छ। लिगको शीर्ष स्थानमा रहेको रियल सोसाइडेडको ९ खेलबाट २० अंक हुँदा दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडको आठ खेलबाट २० अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।