काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासललाई पराजित गरेको छ। चेल्सीले न्युकासललाई २–० गोलअन्तरले पराजित गरेको हो।
न्युकासललाई उसैको मैदानमा पराजित गर्न चेल्सीका टमी अब्राहमले गोल गरे।
न्युकासलका फेडेरिको फेर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमा फेडेरिकोले आत्मघाती गोल गरेका थिए। खेलको ६५ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए।
त्यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्टब्रुमलाई १–० गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ५६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई १–० गोलको जित दिलाए।
जितसँगै तीन अंक जोडेको चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ९ खेलबाट १८ अंक छ। लिगको शीर्ष स्थानमा रहेको टोटेनहमको २० अंक हुँदा तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ८ खेलबाट १८ अंक छ। चौथो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलको १७ अंक छ। वेष्टब्रुमलाई पराजित गरेको म्यानचेस्टर युनाइटेडको भने ८ खेलबाट १३ अंक भएको छ। युनाइटेड लिगको नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।