काठमाडौं– सिंगापुरमा भएको स्टार वार्स रन २०१८ रनको १० किलोमिटर दौडमा नेपाली धावक निमेष गुरुङले कास्य पदक जितेका छन्।
शनिबार भएको दौड उनले ३१ मिनेट १७ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान हासिल गरेका हुन्। पहिलो र दोस्रो स्थान भने केन्याका धावकले हात पारे। केन्याका भेन्सन अनसङले ३० मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गरेर स्वर्ण पदक हात पारे। यस्तै केन्याकै जेम्सले ३० मिनेट ५९ सेकेन्डमा दौड पूरा गरेर रजत जिते।
पहिलो स्थान हात पारेका केन्याली खेलाडीले २५ सय डलर तथा दोस्रो भएका खेलाडीले १५ सय डलर हात पारे। यस्तै तेस्रो भएका निमेषले एक हजार डलर प्राप्त गरे। तीनै जनालाई अस्ट्रेलिया भ्रमणको प्रायोजन समेत पुरस्कारको रुपमा प्रदान गरिएको छ। जसमा पहिलो हुनेलाई ३ साता, दोस्रोलाई दुई साता र तेस्रोलाई एक साताको प्रायोजन गरिनेछ।

प्रतियोगिताको महिलातर्फको पहिलो स्थान पनि केन्याका खेलाडीले जितिन्। दोस्रो स्थान अस्ट्रेलियाकी तथा तेस्रो स्थान सिंगापुरकी खेलाडीले हात पारिन्।
प्रतियोगितामा सर्वसाधरणसहित १० हजार बढीले भाग लिएका थिए।

सिंगापुर पुलिसका जागिरे निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।
उनले गत वर्ष अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए। गत अगस्टमा अमेरिकाको लस एन्जलसमा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा पनि उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जिते।
२०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।