काठमाडौं- इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुलका लागि अवस्था सहज हुन सकिरहेको छैन। आठ खेल सकिँदा शीर्ष स्थानको लेस्टरसँग एक अंकले मात्र पछि रहे पनि चोटका कारण लेस्टरसँगको अबको खेल लिभरपुलका लागि कठिन देखिन्छ।
प्रिमियर लिगमा आइतबार राति १ बजे लिभरपुल र लेस्टरबीच खेल हुँदैछ। अहिले शीर्ष स्थानमा रहेको लेस्टरको ८ खेलमा ६ जित र २ हारसहित १८ अंक रहेको छ। तेस्रो स्थानमा रहेको लिभरपुलको ८ खेलमा ५ जित २ बराबरी र १ हारसहित १७ अंक रहेको छ।
लिभरपुलका महत्वपूर्ण फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणका कारण समस्यामा छन्। त्यसका साथै भर्जिल भ्यान डाइक, जोय गोमेज, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एन्डी रोबर्टसन र फाबियानोसमेत चोटका कारण समस्यामा छन्। यसैले विजेता टिम लिभरपुलका लागि चोटकै कारण अहिलेको अवस्था सहज देखिँदैन।
गएको महिना इभर्टनसँग २-२ बराबरी भएको खेलमा चोट बोकेका भ्यान डाइकले लेस्टरसँग मात्र होइन यो सिजनका धेरै खेल गुमाउँदै छन्। गएको सिजन लिभरपुलले उपाधि जित्दा भ्यान डाइकको भूमिका महत्वपूर्ण थियो। एरियल बलमा मात्र होइन बल पासमा समेत भ्यान डाइकको भूमिका टिमका लागि विशेष थियो।
घुँडाको शल्यक्रिया गरेर आराममा रहेका गोमेजले पनि अरु महत्वपूर्ण खेलसमेत गुमाउँदै छन्। यो सिजन चोटमा पर्नु अघि उनी लगभग पहिलो रोजाइँमा नै परिरहेका थिए। पिडौँलामा समस्या देखिएका आर्नोल्ड पनि डिफेन्समा मात्र होइन आक्रामक खेलका लागि उपयोगी भइरहेका थिए।
लिभरपुलमा अहिले क्यामरुनका जोएल माटिप मात्र फिट सेन्टर ब्याक रहेका छन्। जसले लेस्टरसँगको खेलमा उनले मौका पाउने देखिन्छ। पछिल्लो समय चोटको समस्याले नै गर्दा उनले समेत यो सिजन सबैमा गरेर तीन पटक मात्र खेलेका छन्। जसले उनले हप्तामा तीन खेल खेल्न सक्ने अवस्था देखिँदैन।
डिफेन्समा देखिएको समस्याले गर्दा नै क्लोपले मिडफिल्डर हेन्डरसन र विज्नाल्डमलाई समेत डिफेन्समा खेलाउने प्रयास गरिरहेका छन्। यसैले जनवरीमा हुने खेलाडी किनबेचको समयमा लिभरपुलले कोही डिफेन्डर भित्र्याउने प्रयास गर्ने अनुमान भइरहेका छन्। लिभरपुलमा सफल देखिएका डिफेन्डर भ्यान डाइक समेत जनवरीकै समयमा ७५ मिलियन पाउण्ड खर्चिएर साउथह्याम्पटनबाट ल्याइएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।